२०८१ बैशाख ७ , शुक्रवार

बुद्धि तामाङ अभिनित ‘वेलकम टु हेम्जाकोट’को ट्रेलरमा बेरोजगारीको कथा

सुनाखरी न्युज/ काठमाडौं । जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल-कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भएको छ । बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भूमिका रहेको फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेश गर्छ ।

 

सरोज पौडेल निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न नैतिक शिक्षा पनि दिएको छ । कमेडी रुचाउने दर्शकलाई फिल्म दर्शनीय हुन सक्छ । फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, जयनन्द लामाको समेत अभिनय छ ।क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्ले नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वश्रेष्ठ फिल्मको अवार्ड पनि जितेको थियो । तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले फिल्म निर्माण गरेका हुन् ।

 

मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् । कविराज गहतराज र गम्भीर विष्टको संयुक्त नृत्य निर्देशन, शाश्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मको गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठले स्वर दिएका छन् । राज सागरले संगीत भरेका छन् । यो फिल्म उक्त मितिमा नेपालसहित जापान, अष्ट्रेलिया, अमेरिका र युरोपेली मुलुकमा प्रदर्शन हुने जनाइएको छ ।