२०८० जेठ २१ , आइतवार

सन्दीपको मुद्दामा आज पेशी, फैसलामा ढिलाई हुँदा महत्वपूर्ण प्रतियोगिता अनिश्चित

sandip lamichhane

सुनाखरी न्युज/ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज आइतबारलाई तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा आज मुद्दाको पेशी रहेको छ ।

 

गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा पेशी तोकिएपनि पटक-पटक विभिन्न कारणले ढिला हुँदै आएको छ। सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो।

 

सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ। सन्दीपको मुद्दाको फैसलामा ढिलाई हुँदा महत्वपूर्ण प्रतियोगिता अन्योलमा परेका छन् । आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसैको तयारीको लागि नेपालले त्यस पूर्व दक्षिण अफ्रिका भ्रमण गर्दै छ । फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेशीमा आफैँ अदालत उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नपर्छ ।