२०८१ बैशाख ११ , मंगलबार

रत्नपार्कमा वृक्षारोपण, धुपी, कपुर र समीका विरुवा रोपिए

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज शंखधरपार्क (रत्नपार्क) मा वृक्षारोपण गरेको छ । सहरी हरियालीका लागि १ लाख वटा विरुवा रोप्ने अभियानअन्तर्गत आज पार्कमा ११५ वटा विरुवा रोपिए । जसमा कपुर, धुपी र समीका विरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १२० वटा कपुरका विरुवा रोपिएका थिए ।

 

सहरी हरियालीका लागि १ लाख विरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताउनुभएको छ । सहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फुल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख शाहको भनाइ छ । ‘चराचुरुङ्गी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट विरुवालाई जोगाउने योजनाअनुरुप रैथाने (इडेमिक)) र प्राकृतिक रुपमा उम्रने (इन्डिजेनियस) बोट विरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’ प्रमुख शाहले स्पष्ट पार्नुभयो ।

 

सन् १८०२ एक बर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बैज्ञानिक बुचानन हामील्टनले बोट विरुवाको अध्ययन गर्नुभएको थियो । त्यसबाट ४१ प्रजातिका विरुवाको नाम नेवारी लवजमा राखियो । अन्तरराष्ट्रिय स्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवाहरु — बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको बैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसीमा, पोडोकार्पस नेरिफोलियस हो ।

 

यी विरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकोले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्छ । वनस्पतिविज्ञ प्रकाश खड्गीकाअनुसार, नेपालमा पाइने १५८ प्रकारका रुख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३१२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् ।

 

बनस्पतिविज्ञहरुले रोप्नका लागि शिफारिस गरेका विरुवा

सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोट विरुवा रोप्न बनस्पतिविज्ञहरुको सुझाव छ । यसरी रोपिने विरुवाहरुमा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयुँ, लेक पाङ्ग्रा, सिरिङ्गे, मिकुसी स्वाँ जस्ता बिरुवा छन् ।

 

सहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोट विरुवाले पूरा गराउन सक्छन् । महानगरको उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार, रत्नपार्कसँगै खुल्ला मञ्च क्षेत्र, पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा विरुवा रोपिनेछन् ।

 

बर्खा याममा विरुवा सार्न र बचाउन सकिने भएकोले यही मौसममा धेरै विरुवा रोप्ने योजना छ । यससँगै ट्राफिक आइल्याण्डहरुमा मौसमी पूmलहरु रोपिनेछन् ।