२०८१ बैशाख १५ , शनिवार

विद्यालय स्तरीय ट्राफिक क्लब गठन : प्रमुख शाहबाट शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौं । पदमकन्या माध्यमिक विद्यालय, डिल्लीबजारमा ट्राफिक क्लब गठन गरिएको छ । क्लब गठनपछिको प्रतिक्रियामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले भन्नुभयो, ‘मैले मेयर पदमा उम्मेदवारी दिने समयमा ट्राफिक व्यवस्थापन गर्ने कामलाई प्रमुख प्राथमिकतामा राखेको थिएँ । मतदातासँग त्यसबेला गरिएको प्रतिवद्धता पूरा गराउने कार्यक्रम सुरु गर्दै, नेपालमा नै पहिलो पटक विद्यालयमा ट्राफिक क्लब स्थापना गरेका छौँ । बालबालिकालाई ट्राफिक नियम, सडक सुरक्षा र सडक अनुशासनका बारेमा व्यवहारिक ज्ञान दिन क्लब गठन गरिएको हो । क्लवमा १० जना सदस्य हुनेछन् ।’

 

क्लवमा आवद्ध विद्यार्थीहरुको कामका बारेमा जानकारी दिँदै प्रमुख शाह भन्नुहुन्छ, ‘काठमाडौँका धेरै स्कूलहरू व्यस्त सडक किनारामा छन् । यस्ता विद्यालयका सदस्यहरु बिहान खुल्ने र साँझ विदा हुने समयमा सक्रिय हुन्छन् । उनीहरुले ४ /४ जना को समूह बनाएर सडक पार गर्दा अपनाउने पर्ने सावधानी सम्झाउँदै पैदल यात्रुका दायित्वका विषयमा विद्यार्थीहरुलाई सम्झाउँछन् । उनीहरुलाई सडक पार गर्न सहयोग गर्ने जिम्मेवारी पनि क्लवका सदस्यहरुलाई दिइएको छ ।’

 

जेब्रा क्रसको संकेत राखिएको ठाउँबाट मात्र सडक पार गर्नुपर्छ । रातो बत्ती बलेको बेलामा बाटो काट्न हुँदैन । चालक तथा यात्रुले संकेत बत्तीको निर्देशन पालना गर्नुपर्छ । ‘स्टप’ मा रोकिने । ‘गो’ मा मात्र जाने बानीको विकास गराउनुपर्छ । यी विषयमा बाल्यकालको शिक्षासँगै ज्ञान दिन क्लबका क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्नेछन् । क्लबलाई ट्राफिक कोन, स्टप, गो बोर्ड, ब्याटन लाइट, फ्लोरोसेन ज्याकेट लगायतका आवश्यक सामग्री दिइएको छ । क्लब गठनको यो थालनी हो । सामुदायिक विद्यालयमा यसलाई विस्तार गर्दै लगिनेछ ।