२०८१ बैशाख १४ , शुक्रवार

दाङको देउखुरीमा बस दूर्घटनाः एकजनाको मृत्यु २० बढी घाइते

सुनाखरी न्युज/ काठमाडौं । दाङको देउखुरीमा आज बिहान दुई वटा बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

 

लमहीबाट भालुवाङतर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमहीनगरपालिका–३ फल्कापुरमा एक आपसमा ठोक्किदा रोल्पा रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ की ४२ वर्षिया शोभा परियारको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

बारा जिल्लाबाट ईटाभट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।