२०८१ बैशाख ११ , मंगलबार

राष्ट्रपति पौडेलले संघीय संसदकाे संयुक्त बैठकलाई पहिलाेपटक सम्बोधन गर्दै

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

 

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उनको यो पहिलो सम्बोधन हुन लागेको हो । सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी हुने जनाइएकाे छ ।

 

उक्त संयुक्त बैैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गरेको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नेछन् । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ । सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ ।