२०८१ बैशाख ७ , शुक्रवार

९ करोडमा बनेको ‘डाकिनी’ सहरका सीमित हलमा

सुनाखरी न्युज/ काठमाडौं । बुद्ध धर्मको मिथमा आधारित नेपाली चलचित्र ‘डाकिनी’ शुक्रबारबाट नेपालमा रिलिज हुने भएको छ । तर निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्म काठमाडौँका सीमित हलमा मात्र रिलिज हुनेछ । उनले यसको कारण खुलाउँदै भने, ‘यो व्यावसाियक शैलीको चलचित्र होइन । पैसा कमाउने उद्देश्यले पनि बनाएको हैन । यो चलचित्रको बारेमा सुनेका र यो फिल्ममा काम गरेका कलाकार तथा प्राविधिकले पनि हेर्नुहोस् भन्ने उद्देश्यले रिलिज गर्न लागेका छौँ । खासमा यो सेलिब्रेसनका लागि रिलिज गरिएको हो ।’

 

५ वर्षअघि बनेपाको पनौती र पाटनमा सुटिङ भएको फिल्म विश्वका धेरै फेस्टिभल घुमिसकेको छ । तर विश्वमै यसको हल रिलिज भने पहिलो हो । यही रिलिजका लागि धर्मगुरु तथा यो फिल्मका निर्देशक खिन्से नोर्बु काठमाडौँ ओर्लिसकेका छन् । शनिबार उनले ‘ब्युटी इज अ ट्रयाप’ शीर्षकमा मास्टरक्लास पनि दिनेछन् । नेपालमा ५ वर्षअघि सुटिङ भएको फिल्मले बुद्ध धर्ममा प्रचलित डाकिनीको मिथमा रहेर स्व अस्तित्वको खोजको कथा प्रस्तुत गर्छ । हप्ता दिनपछि मर्ने सूचना पाएको चरित्रले जब बाँच्नका लागि डाकिनी भेट्टाउने क्लू पाउँछ, त्यो चरित्रले डाकिनी खोज्न गर्ने संघर्ष नै फिल्मको कथा हो ।

 

निर्माण कम्पनी षट्कोण आर्टले फिल्म रिलिजसँगै बौद्धमा आर्ट विकको पनि आयोजना गरिरहेको छ । यो कार्यक्रममा चित्रकला, नाटक आदि गतिविधि हुनेछन् । सिनेमालाई मार्क लि पिङले खिचेका हुन् । पिङ विश्व प्रसिद्ध सिनेमा ‘इन दि मुड फर लभ’का छायांकार हुन् । फिल्मका अर्का निर्माता रविन्द्र सिंह बानियाँले उनको खिचाइमा चाख हुनेका लागि हेर्ने अवसर पनि उपलब्ध गर्ने हेतुले फिल्म रिलिज गर्न लागेको बताए । यो फिल्म ९ करोड हाराहारीको नेपाली बजेटमा तयार भएको हो । यो सबै पैसा ‘क्राउड फन्डिङ’बाट जम्मा गरिएको हो ।