२०८० चैत्र १५ , बिहिवार

शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।

 

प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग अध्यक्ष मियाँको संलग्नता देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार शरणार्थीका नाममा ठग्ने गिरोहलाई हज समितिको प्रयोगका लागि उपलब्ध गराएको गृह मन्त्रालयको गाडी अध्यक्ष मियाँले उपलब्ध गराएका थिए । भुटानी शरणार्थी प्रकरणमा उक्त समितिको गाडी प्रयोग भएको खुलासा भएको प्रहरीले जनाएको छ ।

 

गृह मन्त्रालयको स्वामित्वमा रहेको बिएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप प्रहरीले बरामद गरेको छ । पीडितहरुलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरु सो गाडीमा जाने गरेको प्रहरीको दाबी छ । चितवनको सौराहा र काठमाडौँको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरुले सो गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । इम्बोस्ड नम्बर बिएबी-१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा रहेको पाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।