२०८१ बैशाख १२ , बुधवार

बुधबार एकै दिन १७५ जनाले सगरमाथाको सफल आरोहण गरे

सुनाखरी न्युज/ काठमाडौं । एकैदिन कम्तीमा १७५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुका आरोहण सिजन अन्तर्गत बुधबार विभिन्न एजेन्सी मार्फत गएका १७५ आरोहीहरुले सफल आरोहण गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाले जनाएको छ ।

 

यो सिजनमा बुधबार एकैदिन सबैभन्दा धेरैले आरोहण गरेका हुन् । सन् २०१९ को मे २३ एकैदिन सबैभन्दा धेरै ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् ।

 

जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला रहेका छन्। पर्वतारोहण शाखाको अनुसार ४ दिनयता सगरमाथा शिखरमा २५० जना पुगेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ। पर्यटन विभागका अनुसार वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए। विभागले यसपटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।