२०८० चैत्र १६ , शुक्रवार

१२ वर्षीय बालक ३ महिनादेखि बेपत्ता

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँको कोटेश्वरबाट १२ वर्षीय बालक बेपत्ता छन् । ३ महिनाअघि हराएका डोटीको आदर्श गाउँपालिका वडा नम्बर–२ घर भएका सुशीलबहादुर खड्का भेटिएका छैनन् ।

 

नयाँ बानेश्वरमा कक्षा ५ मा अध्ययनरत खड्का कोटेश्वरको भाटभटेनी नजिकै बस्दै आएका थिए । ३ महिनाअघि नयाँ बसपार्कबाट मयुर बसमा ल्याएर छोरालाई कोटेश्वर छाडेर उनका बुबा डवलबहादुर खड्का बनेपातिर लागेका थिए । त्यसैदिनबाट छोरा नफर्केको बुवा डबल बहादुरले बताए । आफ्नो छोराको खोजीका लागि उनले प्रहरी प्रभाग कोटेश्वरमा निवेदन दिएका छन् । तर, प्रहरीले अहिलेसम्म खोजी कार्य अघि बढाएको छैन । डवलबहादुर चालक हुन् । उनी बनेपा–काठमाडौँ रुटको मयुर बस चलाउँछन् ।

 

बेपत्ता बालकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । एसपी रिजालले भने– ‘बालकको खोजी गर्न देशभर हुलिया सर्कुलर गरेका छौँ, खोजी कार्य भइरहेको छ ।’ सशस्त्र प्रहरीबाट जागिर छाडेका डवलबहादुरले यसअघि पूर्व प्रधानमन्त्री र मन्त्रीको गाडी चलाएका थिए । आफूलाई परेको बेला ‘भिआईपी’ हरुले पनि बेवास्ता गरेको उनको गुनासो छ ।