२०८१ बैशाख १३ , बिहिवार

गिनिस रेकर्डका लागि नाइजेरियाकी यी महिलाले पकाइन् लगातार १ सय घण्टा खाना

सुनाखरी न्युज/ काठमाडौं । पश्चिम अफ्रिकी राष्ट्र नाइजेरियाकी एक महिला सेफले १०० घण्टा लगातार खाना पकाएकी छिन् । लागोस शहरकी हिल्दा बेसीले गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सका लागि म्याराथन कुक सेसनमा भाग लिएकी हुन् । उनले मे ११ देखि १५ सम्म लगातार दिनरात नभनी खाना पकाएको रोयटर्सले जनाएको छ ।

 

गिनिस विश्व रेकर्डको नियमअनुसार हरेक एक घण्टापछि हिल्दालाई पाँच मिनेट आराम गर्ने समय भने दिइएको थियो ।२७ वर्षकी हिल्दाले १०० घण्टा लगातार खाना पकाउन सफल भएपछि नाइजेरियाका राष्ट्रपति मुहामादु बुहारी साथै त्यहाँका चर्चित व्यक्तिहरूले उनलाई शुभकामना दिएका छन् । गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले सबैभन्दा लामो समयसम्म खाना पकाउने व्यक्तिका रूपमा हिल्दालाई चाँडै पहिचान गर्ने बताइएको छ ।

 

हाल गिनिस वर्ल्ड रेकर्ड्सका अधिकारीहरूले हिल्दा सहभागी म्याराथन कुक सेसनबारे जानकारी र प्रमाण लिइरहेका छन् । हिल्दाको प्रयास प्रशंसनीय रहेको गिनिस वर्ल्ड रेकर्ड्सले ट्वीटमा बताएको छ । यसअघि सबैभन्दा लामो समयसम्म खाना पकाउने व्यक्ति लता टण्डन थिइन् । भारतकी उनले सन् २०१९ मा ८७ घण्टा ४५ मिनेटसम्म लगातार खाना पकाएकी थिइन् ।