२०८० चैत्र १६ , शुक्रवार

अर्थतन्त्रको जग माथि उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादनको बजारीकरण आवश्यक : पर्यटनमन्त्री किराँती

सुनाखरी न्युज/ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले अर्थतन्त्रको जग माथि उठाउन लघु, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पु-याउनुपर्ने बताउनुभएको छ ।

 

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन उद्योग र मुलुकका लघु घरेलु तथा साना उद्योगलाई जोडेर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । पर्यटन उद्योग विस्तारै लयमा फर्किएको भन्दै उहाँले पर्यटन उद्योग प्रवद्र्धनका लागि विकास, विस्तार र विविधिकरणका साथै घरेलु उद्योगलाई जोडेर लैजानुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । महासंघले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने “सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रबद्र्धन कार्यक्रम–२०८०” लाई मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

सो अवसरमा महासंघको प्रतिनिधिमण्डलले नेपाल प्रबद्र्धन कार्यक्रमको कार्यान्वयन मोडालिटीको बारेमा छलफल पनि गरेको थियो । महासंघले हरेक वर्ष आयोजना गर्ने गरेको औद्योगिक प्रदर्शनीको आगामी श्रृङ्खला “नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी तथा घरेलुु उद्योग महोत्सव – २०८०” यस वर्ष “सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रबद्र्धन कार्यक्रम–२०८०” को नामबाट नेपाल सरकारसँगको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र राष्ट्रिय उद्योग व्यापार महासंघ मिलेर आगामी मङ्सिर महिनामा आयोजना गर्न लागेको महासंघका अध्यक्ष उमेप्रसाद सिंहले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव प्रसाद कट्टेल, महासंघका उपाध्यक्ष हरिहर थापालगायतको सहभागिता रहेको थियो ।