२०८१ बैशाख १२ , बुधवार

रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट सदर

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा पुनरावेदन जिकिर नपुग्ने भन्दै उच्च अदालतकै फैसला सदर गरेको बताउनुभयो ।

 

उहाँले दुई जना प्रतिवादीहरु सीताराम चौधरी र गंगाराम चौधरीले भने आरोपित कसुरबाट सफाई पाउने फैसला गरेको बताउनुभयो । उहाँले अर्का प्रतिवादी लक्ष्मण थारु चौधरीको हकमा पहिलाको उच्च अदालतको आदेशअनुसार लागेको कैदमा केही कम अर्थात ३ वर्षको सजाय नै ठहर हुने फैसला भएको बताउनुभयो ।

 

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ ।