२०८१ बैशाख १४ , शुक्रवार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भयो : कांग्रेस प्रवक्ता महत

सुनाखरी न्युज/ काठमाडौं । कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले गम्भीर रूपमा लिएको बताएका हुन् ।

 

उनले घटनाको अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको दाबी गरे । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले नाम लिएका कांग्रेस सांसद मञ्जु खाँण कहाँ छिन् भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन । मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ । आरजु राणाको केसमा उहाँले प्रमाणित होस भनेर उजुरी गर्नुभएको छ । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भनेर व्यवहार भइरहेको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने विश्वास छ ।’

 

अनुसन्धानका क्रममा पक्राउ परेका बालकृष्ण खाँणले ‘आफू निर्दोष छु, साबित गर्छु’ भनेको पनि महतले बताए । घटनाको अनुसन्धान जारी रहेकाले ‘निर्दोष नफसून्, दोषी नउम्किऊन्’ भन्ने पक्षमा पार्टी रहेको प्रवक्ता महतले जनाए । खाँणले निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको पनि उनले बताए ।’आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण खाँण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ । निष्कर्ष आइसकेको छैन। उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्‍यो । त्यसमा पूर्ण सहयोग गर्छौं । ‘दोषी नउम्किऊन्, निर्दोष नफसून्’ भन्ने हाम्रो मान्यता हो। त्यो प्रकरणमा जोडिएका उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो । पार्टीको बैठकमा महामन्त्रीहरूले कुनै असन्तुष्टि नराखेको पनि प्रवक्ता महतले बताए ।