२०८१ बैशाख १४ , शुक्रवार

चल्न थाले साझाका बिजुली बस, लामो रुटमा सेवा

सुनाखरी न्युज/ काठमाडौं । साझा यातायातले पाटनढोकाबाट रत्नपार्क हुँदै ज्ञानेश्रर-जोरपाटी (दक्षिणढोका) सम्मको बिजुली बस सेवा आरम्भ गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातको बिजुली बस सेवा सुरुवात गरेका छन् ।

 

फर्किंदा दक्षिणढोका–जोरपाटी–चाबहिल–गौशाला–रातोपुल–घण्टाघर–जमल–माइतीघर–पाटनढोका रुटबाट चल्ने ३ वटा बसहरुको सेवा उद्घाटन भएको हो । यो रुटमा १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ । यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिंदै आएको छ । चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५ हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो ।

 

३० असार २०७६ मा तत्कालीन केपी ओली नेतृत्व सरकारले बिजुलीबाट चल्ने सार्वजनिक यातायातको प्रोत्साहन गर्न साझ यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो ।साझा यातायातको संचालक समितिले नयाँ प्रविधि बिजुलीमा चल्ने बस भएकोले तीन पटक गरी बस खरीद गर्ने निर्णय गरेको थियो ।

 

साझाका अनुसार पहिलो ‘लट’ मा ४० वटा बस आएका हुन् । साझा यातायातले बस खरीदको लागि अनुसन्धान सुरु गरेको एक महीना नपुग्दै ‘सरकारबाट प्रक्रिया अगाडि नबढाउने’ भनेपछि प्रक्रिया रोकिएको थियो भने एक वर्ष पछि फेरि ‘काम अगाडि बढाउनू’ भनी पत्र प्राप्त भएको थियो । यसरी बस खरीदमा डेढ वर्ष ढिलाइ भएको थियो ।