२०८१ बैशाख ६ , बिहिवार

सुरक्षा निकायका जवानले धमाधम जागिर छोड्दा सरकारलाई थप आर्थिक भार

सुनाखरी न्युज/ काठमाडौं । सुरक्षा निकायमा कार्यरत तल्लो दर्जाका (तहका) कर्मचारीहरुले छोटो समयमा नै जागिरबाट अवकाश लिने गरेको पाइएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार पछिल्लो समय तल्लो तहका कर्मचारीहरुले अवकाश लिएर वैदेशिक रोजगारीका लागि विदेशीने क्रम बढ्दोे रहेको छ ।

 

कार्यालयका प्रमुख विष्णुप्रसाद खरेल तल्ला तहका कर्मचारीहरु जागिर छोडेर विदेशीने क्रम बढ्दो रहेका बताउँछन् । उनका अनुसार पछिल्लो ५ वर्षको अबधिमा ३१ हजारभन्दा बढी कर्मचारीहरु वैदेशिक रोजगारीका लागि सेक्युरिटीको रूपमा जाने प्रवृत्ति ह्वात्तै बढेको छ । कार्यालयले तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा नेपाली सेनामा ७१ हजार २८२ जना रहेको निवृत्तभरण आर्थिक वर्ष २०७८/०७९ मा आइपुग्दा ९२ हजार ८८५ जना पुगेको छ । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा मा ४४ हजार २७३ जना रहेको नेपाल प्रहरीमा २०७८/०७९ मा आइपुग्दा ५८ हजार ३९८ जना रहेको छ ।

 

कार्यालयकोे तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४ सालमा ५ हजार १२७ जनाले निवृत्तभरण रोजेका थिए । जसमा १ हजार ४९१ जना प्रहरी र ३ हजार ६३६ जना नेपाली सेना तर्फका थिए । ‘सुरक्षा निकायमा कार्यरत व्यक्तिहरू बढी उमेरसम्म बाँच्ने अवस्था रहेको छ, कम उमेरमै करीब ३४/३६ वर्षको उमेरमा जागिर छोड्ने प्रबृद्धि बढ्दा निवृत्तभरण (पेन्सन) लिनेको संख्या बढेको छ, सानो उमेरमा नै निवृत्तभरण लिने र विदेशमा पनि शारिरीक परिश्रममा आधारित काम गर्नेगरेको पाइएको छ’, उनले भने, ‘निवृत्तभरण लिएका नेपाली सेना तथा प्रहरीका जवानहरु शारिरीक तन्दुस्ती रहने हुनाले निजहरू औषत आयु समेत बढी हुन्छ, जसको कारण लामो समयसम्म निवृत्तभरण भुक्तानी गर्नु पर्ने अवस्था रहेको छ ।’

 

२०७५ सालमा प्रहरी तर्फ ४ हजार ९९० जना र सेना तर्फ ५ हजार ८२६ गरी १० हजार ८१६ जना, २०७६ मा नेपाल प्रहरी तर्फ २ हजार ४४३ जना र सेना तर्फ ४ हजार ६४ गरी ६ हजार ५०७ जना, २०७७ सालमा प्रहरी तर्फ ७७० जना र सेना तर्फ एक हजार ३५६ र २०७८ सालमा प्रहरी तर्फ ४०० जना र सेना तर्फ ६ हजार ८८४ गरी ७ हजार २८४ जनाले अवकाश लिएका थिए । कार्यालयको बैशाख १४ गतेसम्मको तथ्यांक अनुसार नेपाल प्रहरीका ५९ हजार ३२३ र नेपाली सेनाका ९७ हजार ६१६ जनाले निवृत्तभरण लिदै आएका छन् । कार्यालयले पछिल्लो समय सबै क्षेत्रका २ लाख ९२ हजार ९४५ जना कर्मचारीका लागि पेन्सन दिदै आएको छ ।

कर्मचारीले खाइपाइ आएको तलबलाई सेवा अवधिले गुणा गरी त्यसलाई ५० अंकले भाग गरी आउने रकम पेन्सनबापत दिने व्यवस्था गरेको छ । यसअनुसार ३० वर्ष सेवा गरेका कर्मचारीले करिब दुई तिहाइ तलब पेन्सनका रुपमा पाउँछन् । कुनै कर्मचारीको खाइपाइ आएको अन्तिम तलब ४० हजार छ र ३० वर्ष सेवा अवधि पूरा गरेको छ भने त्यो कर्मचारीले २४ हजार रुपैयाँ मासिक रुपमा पेन्सन पाउँछ । यस्तै, सरकारले कर्मचारीको तलब बढाउँदा पेन्सन पाउने पूर्वकर्मचारीको तलब पनि ६६ प्रतिशतले बढ्ने गरेको छ । यो बढोत्तरी भने ७ वर्षसम्म मात्र कायम रहन्छ ।

 

अर्थविद् डिल्लीराज खनाल पेन्सन लिनेको संख्यामा बढ्दो क्रममा रहेको भन्दै सरकारले दायित्व बहन गर्न असहज हुने देखिएको बताउँछन् ।‘यही ढंगले दायित्व बढ्दा सस्टेन गर्न सक्दैन, यसलाइ पुनसंरचना गर्नुपर्ने देखिएको छ, यो विषय धेरै लामो समयदेखि चल्दै आएको हो, तर अहिलेसम्म ढोस काम केही भएको छैन’, उनले भने । सरकारले निवृत्तभरणका लागि रकम दिदिन भन्दै पाउँदैन भन्दै उनले दिनप्रतिदिन दायित्व थपिदै जादा दिर्घकालका लागि पुनविचार गर्नुपर्नेमा जोड दिए । पेन्सन लिनेका लागि नोक्सान नहुने गरी सरकारले एउटा नीति ल्याउनुपर्ने उनको भनाई छ ।