२०८० चैत्र १६ , शुक्रवार

अभिनेता महेश त्रिपाठीलाई इटालीको फिल्मबाट प्रस्ताव

सुनाखरी न्युज/ काठमाडौं । ‘हल्कारा’ फेम्ड अभिनेता महेश त्रिपाठीलाई २०८० साल फापेजस्तो देखिएको छ । अहिले हलमा चलिरहेको उक्त फिल्मबाट उनले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका छन् । सोही फिल्मबाट उनले अमेरिकाको ह्युस्टन फेस्टलगायतका अन्तर्राष्ट्रिय अवार्डमा पनि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते ।

 

त्रिपाठीलाई लिएर नयाँ खबर छ । उनलाई इटालीको एक फिल्ममा अभिनयका लागि प्रस्ताव आएको छ । भारत र युरोपमा छायांकन गर्न लागिएको यो सोसल ड्रामा फिल्मका लागि निर्देशक एलेक्स बसेफ र निर्माताले महेशलाई प्रस्ताव गरेका हुन् । निर्माताको प्रस्तावअनुसार नै उनले आफ्नो व्यक्तिगत परिचयसहितको सीभी, फिल्मको क्याटालगसहितको डकुमेन्ट इटाली पठाएका छन् । ‘उहाँहरुले अन्तर्राष्ट्रिय फेस्टिभलबाटै चिनेर मलाई अप्रोच गर्नुभएको रहेछ,’ उनले भने, ‘मेजर क्यारेक्टर नै रोल भन्नुभएको छ ।’ उनले यो फिल्मलाई लिएर विस्तृत कुरा आउन बाँकी रहेको बताए ।

 

अहिले हलमा चलिरहेको ‘हल्कारा’को व्यावसायिक पाटो कमजोर रहे पनि अभिनेताको रुपमा महेशलाई भने फाइदा पुगेजस्तो देखिएको छ । उनले यसबाट सकारात्मक समीक्षा प्राप्त गरेका छन् । आगामी प्रोजेक्टमा विशुद्ध आर्टहाउस र विशुद्ध कमर्सियल फिल्मभन्दा पनि दुवै पक्षका फिल्मलाई सन्तुलनमा मिलाएर काम गर्ने सोचमा उनी छन् ।