२०८० चैत्र १६ , शुक्रवार

भवन नक्सा स्वीकृतिको परम्परागत प्रक्रिया बन्द : कागजरहित सेवामा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्ड कपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको छ ।

बैशाख ३१ गतेको प्रमुख स्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरु गर्दै परम्परागत शैली अन्त्य गरेको हो । यसका लागि इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्र लिँदा यस अघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानु पथ्र्यो । वि. सं. २०७० भदौ १६ गतेबाट महानगरले कागज पनि हुनु पर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको हो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । प्रणालीका अङ्ग परिपक्व भइनसकेकाले यस अघि कागज बोक्नु पर्ने अवस्था थियो ।

प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्का सम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रुपान्तरण गरिएको हो । यो प्रणालीजस्तै सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिसकेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । ‘सहज, सरल र पहुँचयुक्त सेवाका लागि हामीले लिएको नीति कार्यान्वयन भएको छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका शिफारिस लिने जस्ता महत्वपूर्ण काम इन्टरनेट भएको मोवाइल र कम्प्युटरमा प्राप्त हुनेछ ।’

 

चालु आर्थिक बर्षको ‘सहरी विकास तथा भवन मापदण्ड सम्बन्धी नीति’ मा ‘भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली (इलेक्ट्रोनिक बिल्डिङ् परमिट सिस्टम — इबीपीएस) लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । डिजिटल सिग्नेचरलाई आगामी बर्षदेखि कार्यान्वयनमा ल्याइनेछ ।’ भन्ने नीति राखिएको थियो । प्रणाली कागजरहित भएपछि यो नीति कार्यान्वयनमा आएको छ । महानगरको सेवालाई अटोमेसन (स्वचालित प्रणाली) मा आवद्ध गराउँदै लैजाने क्रममा यो एउटा महत्वपूर्ण कामको थालनी हो । यस अघि गएको बैशाख १ गतेदेखि ५ हजार बर्गफिट सम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइसकिएको छ ।