२०८१ बैशाख ४ , मंगलबार

माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने

सुनाखरी न्युज/ काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

 

माई खोला हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउँछ। त्यसैले यो कम्पनीको सेयर पनि भोलि मंगलबारबाट कारोबारमा आउनेछ। नेप्सेमा माई खोलाको १०० अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २० लाख कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को १५ लाख २९ हजार ४११ कित्ता र स्थानीयको ३ लाख ९२ हजार १५७ कित्ता रहेका छन्।

 

नेप्सेले माई खोलालाई ‘एमकेएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम १११.६७ रुपैयाँदेखि अधिकतममा ३३५.०१ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। यदि भोलि स्पेसल प्रि–ओपनिङ सेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ। माई खोला हाइड्रोपावरले गत वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले गत वैशाख १९ गते बाँडफाँड गरेको थियो।