२०८० चैत्र १६ , शुक्रवार

राष्ट्रिय बीमा कम्पनीको नाफामा उछाल, २६.४९%ले बढ्यो बीमाशुल्क आर्जन

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

 

तेस्रो त्रैमाससम्म कम्पनीले ३१ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २४ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २६.४९ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत १७ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय १२ करोड २९ लाख रुपैयाँमा सीमित थियो। गत वर्ष यही अवधिमा १५ करोड १९ लाख रुपैयाँ पुनर्बीमा कमिसन आय आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १७ करोड १८ लाख रुपैयाँ भएको छ।

 

यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ६०.६९ प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। तेस्रो त्रैमाससम्म कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १००.३१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको व्यवस्थापन खर्च घटेको छ। गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च १२ करोड ८८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ११ करोड ३३ लाख रुपैयाँमा झरेको छ।

 

कम्पनीको बीमा कोषको आकार १५.७१ प्रतिशतले बढेर ३ अर्ब १ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो। गत वर्ष ३ अर्ब ३१ करोड रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार १२.३१ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड रुपैयाँको उचाइमा पुगेको छ। हालसम्म कम्पनीको जारी बीमालेखको संख्या ४४ हजार ४१६ रहेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या १७ हजार ५५६ रहेको थियो। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३४३.२५ रुपैयाँ, पीई रेसियो ४८.७८ गुणा र प्रतिसेयर नेटवर्थ १४९८.३२ रुपैयाँ रहेको छ।