२०८१ बैशाख १४ , शुक्रवार

ज्योति विकास बैंकले वितरण गर्यो बोनस शेयर

सुनाखरी न्युज/ काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले यस वर्षको बोनस शेयर वितरण गरेको छ । कम्पनीले फागुन १४ गते १५औं वार्षिक साधारण सभाबाट पारित गरेको ३ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

 

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गरेको हो । चुक्तापूँजी रू. ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश यस वर्ष कम्पनीले वितरण गरेको हो । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो ।

 

बुक क्लोजको आधारमा माघ २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् । माघ १८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको कम्पनीको भनाई छ । सो मितिपश्चात् कर्जा राफसाफ भैसकेको अवस्थामा फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।