२०८१ बैशाख १४ , शुक्रवार

परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उहाँहरुबीच आज भेटवार्ता भएको हो ।

 

भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ ।

 

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका जानुभएको थियो । ढाकामा रहँदा उहाँले शुक्रबार नै भारतीय समकक्षी एस. जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । जयशङ्करसँगको भेटघाटमा समग्र दुई पक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताउनुभयो ।

 

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो । परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्कँदै हुनुहुन्छ । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उहाँ बङगलादेश जानुभएको थियो ।