२०८१ बैशाख ११ , मंगलबार

विद्यार्थी र घुम्न गएकाले विदेशबाट ल्याएको दोस्रो मोबाइलमा भन्सार लाग्ने

सुनाखरी न्युज/ काठमाडौं । भन्सार विभागले विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गरेको छ । यसअनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै थप एउटा मोबाइल शतप्रतिशत भन्सार छुटमा ल्याउन पाउनेछन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ ।

 

यसअघि सबै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश, २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था थियो । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार विदेशबाट फर्किएका जोसुकै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको १ थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु पर्ने छैन । जो सुकैले एक थान मोबाइल महसुल नतिरी ल्याउन पाइने छ ।

 

सोही सुविधाको ब्यहोराअनुसार उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एडीएमएस)मा व्यक्ति स्वयमले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । पहिलो फोनका हकमा जोसुकैले पनि छुट पाउने भएपनि दोस्रो फोनको हकमा भने वैदेशिक रोजगारीमा ६ महिनाभन्दा बढी काम गरेर फर्किएकाहरुले मात्रै भन्सार छुट सुविधा पाउनेछन् ।