२०८१ बैशाख १५ , शनिवार

डिजिटल कारोबारमा उल्लेख्य वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । कोभिड महामारी अगाडि सामान्य रुपमा अगाडि बढेको डिजिटल कारोबार त्यसयता भने निरन्तर बढिरहेको देखिन्छ ।

 

प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक महिनाको अवधिमा आठ लाख आठ हजार पाँच सय जना वालेट प्रयोगकर्ता थपिएका छन् । गत फागुन महिनाको तुलनामा चैत्र महिनासम्ममा उक्त संख्यामा नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । गत फागुन महिनासम्म एक करोड ६७ लाख ५१ हजार ७१३ जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता बढेर चैत्र महिनासम्म आइपुग्दा एक करोड ७५ लाख ६० हजार २५३ जना पुगेका हुन् । वालेटसंगै डेबिट कार्ड प्रयोगकर्ताहरु पनि बढेका छन् ।

 

गत फागुन महिनासम्म एक करोड १८ लाख ७४ हजार ६४९ जना रहेकोमा उक्त संख्या बढेर चैत्र महिनासम्म आइपुग्दा एक करोड २१ लाख १८ हजार ३७१ जना पुगेका हुन् ।नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि बढेका छन् । गत फागुन महिनासम्म १७ लाख ७९ हजार १३४ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु रहेकोमा उक्त संख्या बढेर चैत्रसम्म आइपुग्दा १७ लाख ९८ हजार ८६६ पुगेको छ । यस अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता पनि बढेका छन् । गत फागुन महिनासम्ममा दुई करोड ६५ हजार २६७ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा उक्त संख्या बढेर चैत्र मसान्तसम्ममा दुई करोड चार लाख ३४ हजार ३१ जना पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

त्यस्तै, कनेक्ट आइपिएस, प्रिपेड कार्ड र क्रेडिट कार्डका प्रयोगकर्ता पनि बढेका छन् । गत चैत्र महिनासम्म कनेक्ट आइपिएसका प्रयोगकर्ताहरु १० लाख ५१ हजार ७७६ जना पुगेका छन् । यस्तै, यस अवधिमा क्रेडिट कार्ड प्रयोगकर्ता दुई लाख ८५ हजार १२७ जना र प्रिपेड कार्ड प्रयोगकर्ता एक लाख २७ हजार ७७० जना पुगेका छन् ।