२०८१ बैशाख ७ , शुक्रवार

मौद्रिक नीतिको समिक्षा निजी क्षेत्रले अपेक्षा गरे जस्तो छैन : अध्यक्ष ढकाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताएका छन् ।

 

शनिवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मौद्रिक नीतिको समिक्षा पर्याप्त नभएको दाबी गरे । चुनौतिपूर्ण अर्थतन्त्रबाट बाहिर निस्कने अवस्था बन्न नसकेको बताउँदै उनले राष्ट्र बैंकले बैंकहरुको कर्जामा पुनःतालिकिकरण र पुनः संरचनाको सुविधा दिए पनि ५ करोडमा मात्रै सिमित भएको बताए ।

 

‘उद्योग वाणिज्य महासंघले वर्तमान अर्थतन्त्रको समस्याबाट कसरी बाहिर निकाल्ने भनेर धेरै सुझावहरु दिएको थियो । त्यो मध्ये केही कुराहरु मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा सम्बोधन भएको छ । तर पर्याप्त छैन । सम्बोधन भएका विषयले चृुनौतिपूर्ण अर्थतन्त्रको वर्तमान बाहिर निस्कने अवस्था छैन । रिफाइनान्स खारेज गरेको थियो,’ उनले भने, ‘महासंघको सुझाव अनुसार अहिले राखेको छ । अघिल्लो पटक एकैपटक रिफाइन्स बैंकहरुलाई कल ब्याक गरिदिनु भयो । बैंकहरुले एकै पटक फिर्ता गर्दा बैंकको सिसिडिमा समस्या भएको थियो । मौद्रिक नीतिको समिक्षाले विगतको जस्तो एकै पटक कल ब्याक गर्ने रिफाइनान्सिङले अहिलेको समस्याको समाधान गर्दैन । त्यसरी दिँदा बैंकको क्षमताले भ्याउँदैन । त्यो समय बढाउनुपर्छ । असारसम्म बैंकको कर्जाको किस्ता तिर्न अवधि असारसम्म सार्न माग गरेका थियौं । त्यो मौद्रिक नीतिले गराएको छ तर ५ करोडसम्मको लागि गरेको छ । यो पनि प्राप्त छैन । महासंघले दिएको सुझाव अनुसारको आउन सकेन ।’

 

मौद्रिक नीतिको समिक्षाले निजी क्षेत्रले अपेक्षा गरे जस्तो अर्थतन्त्र चलायमान बनाउन नसक्ने बताउँदै उनले थपे, ‘बैंकको दर कम गर्ने काम गरेको छ । केही सुझावहरु सम्बोधन भएको छ महासंघले केही भएन भन्नु हुँदैन । अहिलेको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिहरु रहेका छन् । प्राप्त छैन । महासंघले दिइएका सुझावहरु मौद्रिक नीतिको समिक्षामा सम्बोधन गरेको छैन । त्यो सुझावहरु आगामी मौद्रिक नीतिले र बजेटले सम्बोधन गर्नुपर्छ ।’