२०८१ बैशाख ७ , शुक्रवार

पाकिस्तानमा सरकारले नै गर्‍यो इन्टरनेट सेवा ठप्प

सुनाखरी न्युज/ काठमाडौं । पाकिस्तानमा चलिरहेको विवादकाबीच त्यहाँकाे सरकारले इन्टरनेट सेवा ठप्प बनाएकाे छ । पूर्वराष्ट्रपति इमरान खानका समर्थक र शक्तिशाली पाकिस्तानी सेनाबीचको लडाइँ यस हप्ता सडक र सामाजिक सञ्जाल गरी दुई मोर्चामा चर्किएको छ।

 

मंगलबार इमरान खान पक्राउ परेको केही घण्टाभित्रै सरकारले प्रतिरोधलाई शान्त पार्ने प्रयासमा देशको इन्टरनेटमा रोक लगाएको थियो । हालसम्म सरकारले इन्टरनेट सेवा सुचारु गर्ने कुनै संकेत दिएकाे छैन । सामाजिक सञ्जालमा विरोध र समर्थन दुवैको पक्षमा अभियान नै चल्न थालेपछि सरकारले यो कदम चालेको हो । तीव्र गतिमा बढ्दै गएको विरोधलाई नियन्त्रण गर्न सरकारले देशभर सामाजिक सञ्जालका साइट डाउन गरेको छ ।

 

यसले गर्दा अहिले त्यहाँका मानिसहरू फेसबुक, यूट्यूब र ट्वीटर प्रयोग गर्नबाट वञ्चित बनेका छन् । कतिपय ठाउँमा मोबाइल नेटवर्कहरू पनि अवरुद्ध भएका छन् । अहिले धेरैजसो पाकिस्तानीको उपाय भीपीएन भएको छ । मोबाइल भएकाहरूले भने ह्वाट्सएप प्रयोग गर्न पाइरहेका छन् ।