२०८१ बैशाख ११ , मंगलबार

उपल्लो जातसँग भोज खाएको निहुँमा कुटिए एक दलित

सुनाखरी न्युज/ काठमाडौं । महोत्तरीमा कथित उपल्लो जातसँग भोज खाएको निहुँमा एक दलित समुदायका किशोर कुटिएका छन् । गौशाला नगरपालिका-१ का १७ वर्षीय किशोर अविनाश पासवानमाथि कुटपिट भएको हो । गत वैशाख २६ गते स्थानीय सुरत यादवको आमाको शुद्धी भोजमा अविनाशलाई रामविनेक यादवले कुटपिट गरेका हुन् ।

 

टेन्टको काम गर्दै आएका अविनाश स्थानीयसँगै भोज खान बसेका थिए । ‘तल्लो जात भएर किन उपल्लो जातसित बसेर भोज खाएको’ भन्दै स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेको पीडितले बताएका छन् । घटनापश्चात कुटपिट गर्ने रामविनेकलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले गत शनिबार जातीय छुवाछूत, भेदभाव र हिंसा तथा कुटपिटविरुद्धको जाहेरी इलाका प्रहरी कार्यालय गौशालामा दिएका छन् ।

 

कुटपिट गर्ने रामविनेकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए । घटना पश्चात विभिन्न संघसंस्थाले जातीय विभेद गरी कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।