२०८१ बैशाख ६ , बिहिवार

ज्येष्ठ नागरिक अधिकार सम्बन्धी अन्तरक्रिया र सम्मान कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिका वडा २९ ले ज्येष्ठ नागरिक अधिकार सम्बन्धी अन्तरक्रिया र ७५ बर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडाभित्र ७५ बर्ष उमेर पूरा भएका ३५० जना ज्येष्ठ नागरिक हुनुहुन्छ ।

 

उहाँहरुमध्ये सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्ने अवस्थाका बाआमाहरु कार्यक्रममा सहभागी हुनुभएको थियो । शारीरिक अवस्थ्यताका कारण सहयोग आवश्यक पर्नेलाई एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको थियो । कार्यक्रममा स्वास्थ्य जाँचको प्रबन्ध गरिएको थियो । यस जाँचबाट ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, प्रयोग गर्ने गरेको अवस्था लगायत विवरण प्राप्त भएको छ । कार्यक्रममा संघीय संसद प्रकाशमान सिंहले, ज्येष्ठ नागरिकको सन्तुष्टि सुसंस्कृत परिवारको परिचय भएको उल्लेख गर्नुभयो । यसबाट समृद्ध र शान्त समाज निर्माणमा योगदान पुग्ने सिंहको धारणा थियो ।

 

७५ बर्ष उमेर पूरा भएका सबै नागरिकलाई सम्मान गरिने वडाध्यक्ष कुश ढकालले बताउनुभयो । विभिन्न कारणले कार्यक्रममा सहभागी हुन नसक्नु भएकालाई घरमै गएर सम्मान गरिने उहाँको भनाइ थियो । ज्येष्ठ नागरिकका सामान्य जीवन यापनका लागि आवश्यक पर्ने सहरी पूर्वाधार, मनोरञ्जन तथा भेटघाट स्थल निर्माण गर्ने दिशामा काठमाडौँ महानगरपालिकाले ध्यान दिने ढकालको भनाइ थियो ।

 

ज्येष्ठ नागरिकहरु सुख महसुस गराउन महानगरपालिकाको लिएको नीतिलाई सामाजिक विकास विभागले कार्यान्वयन गरिरहेको छ । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले भन्नुभयो, वडाहरुबाट ज्येष्ठ नागरिकको खुशीका लागि तीर्थाटन गराउने, मनोरञ्जन केन्द्रमा विभिन्न क्रियाकलाप गराउने, उमेर अनुसारका उपभोग्य सामान तथा बस्तु उपलब्ध गराउने काम भइरहेको छ ।

 

अन्तरक्रियामा ज्येष्ठ नागरिकहरुले उहाँहरुसँग भएका ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्ने कार्यक्रम ल्याउन सके ज्येष्ठ नागरिकको खेर गइरहेको समय नयाँ पुस्ताको क्षमता विकासमा प्रयोग गर्न सकिने सुझाव दिनुभएको थियो । ज्येष्ठ नागरिकमैत्री भौतिक पूर्वाधार, यातायातलगायत सुविधामा क्षेत्रमा सहुलियतमा महानगरले नेतृत्व गर्नुपर्ने उहाँहरुको भनाइ छ ।