२०८१ बैशाख १२ , बुधवार

घार्मीमा ट्राफिक सचेतना, सुरक्षा गस्ती वढाउन आग्रह

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ घार्मीको राम्चेमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

 

ट्राफिक सप्ताहको अवसरमा सामुदायिक प्रहरी बिट लामाचौरको आयोजना तथा वडा कार्यालय पोखरा १९ को सहयोगमा संचालित कार्यक्रममा प्रहरी बिटका प्रमुख हवल्दार गौतम श्रेष्ठले ट्राफिक नियमको पालना गर्न सकेमात्रै दुर्घटनाबाट जोगिन सकिने बताउनुभयो। उहाँले दुर्घटनाको प्रमुख कारण हेलचेक्राइँ भएको बताउँदै, साधन चलाउँदा सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो। वडा सचिव श्रीराम पौडेलले घार्मी क्षेत्रमा विस्तारै विकास निर्माणले तिब्रता पाएको बताउँदै, सवारी साधन र मानविय किर्याकलाप बढ्दै गएकाले प्रहरी गस्ती वढाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पछिल्लो समयमा युवा युवतीहरु सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना नगरेको पाइएको भन्दै, त्यस तर्फ सचेत हुन आग्रह गर्नुभयो।

 

वडा सदस्य कल्पना सुनारको अध्यक्षतामा भएको कार्यक्रममा गायत्री टोल विकास संस्थाका अध्यक्ष बलराम पौडेल, समाजसेवी तेजेन्द्र पौडेल लगायतकाले घार्मी पर्यटकीय क्षेत्र भएकाले यहाँ मानिसको आवतजावत बढेकोले सुरक्षा गस्ती वढाउन आग्रह गरे। उनिहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रहरी र वडा कार्यालयलाई सुझाव दिए।पोखरा १६ मा पनि आजै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।