२०८१ बैशाख ७ , शुक्रवार

वैदेशीक लगानीकर्तालाई पनि सम्पत्तिको अधिकार दिनुपर्छ: माउसली

सुनाखरी न्युज/ काठमाडौं । नेपालले वैदेशीक लगानीकर्ताहरूलाई यहाँ आर्जन हुने सम्पत्तिमा अधिकार सुनिश्चित गर्नुपर्ने विश्व बैंकका निजी क्षेत्रसम्बन्धि विज्ञ पिटर माउसलीले बताएका छन्। लगानी बोर्ड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनामा काठमाडौंमा सुरू भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३ को दास्रो शत्रअन्तरगतको छलफलमा उनले यस्तो धारणा राखेका हुन्। नेपालमा बाह्यबाट वित्तीय लगानी ल्याउन आवश्यक नीतिगत व्यवस्थामा स्पष्ट पार्दै माउसलीले यस्तो बताएका हुन्।

उनले भारतमा भित्रिरहेको प्रत्यक्ष वैदेशीक लगानीमध्ये एकद्वार प्रणाली मार्फत् ९० प्रतिशतबराबर भित्रिरहेकोले नेपालमा समेत एकद्धार प्रणालीको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले अहिले पनि नेपालले भित्र्याइरहेको प्रत्यक्ष विदेशी लगानीको तुलनामा बैंक तथा वित्तीय संस्थाले भित्र्याइरहेको बाह्य ऋणको आधार दोब्बर भएको औल्याएका छन्। विदेशी मुद्रा सञ्चिति बढाउने उदेश्यले मात्रै प्रत्यक्ष वैदेशीक लगानीलाई हेरिन नहुनेमा उनको जोड छ। यसले वैदेशीक प्रविधि र विकास समेत भित्र्याउने उनले बताए। कार्यक्रममा बोल्दै स्ट्याण्डर्ड चार्टर्ड बैंककी कार्यकारी निर्देशक सोभाना चाउलाले सन् २०२२ मा ऋणपत्र, सेयर लगायतका उपकारणबाट मात्रै दिगो वित्त लगानीको लागि विश्व बजारमा २० खर्ब डलर बराबर पुँजी उठेको बताए।

 

नेपालले वैदेशीक लगानी वा मुलुकभित्रबाटै लगानीको जोहो गर्न पनि स्थानीय स्तरमा ऋणपत्र जारी गर्न पर्ने उनले बताए। नेपाल लगभग २०÷२५ वर्ष अघिको भारतको अवस्थामै रहेकोभन्दै उनले नेपालले अझै लगानी प्राथमिकताको क्षेत्र निर्धारण गर्नुपर्ने देखिएको औल्याए। उनले वातावरणीय प्रभाव कम गर्ने भन्दा आफुलाई वातावरण मैत्री भन्दै बजारिकरण गरिरहेका संस्था (ग्रीन वासिङ गरिरहेका संस्था) बाट नेपाल बच्नुपर्ने पनि सुझाव दिएकी छिन्। वातावरणीय, सामाजिक र सुशासन (इएसजी) सम्बन्धमा यहाँका संस्थाहरूले सार्वजनिक जानकारीहरू प्रवाह गरिरहनु पर्नेमा समेत जोड दिइन।

कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले नेपाल समेत सन् २०२३ अन्त्यसम्ममा ग्रिन ट्याक्सोनोमीमा जाने बताएका छन्। ग्रिन ट्याक्सोनोमीले वातावरण, समाज र दिगो विकासका आधारमा भित्रने लगानीको औचित्य रहेनरहेको निर्धारण गर्छ। भट्टले राष्ट्र बैंकले केही समयअघि अन्तराष्ट्रिय बजारमा यहाँका बैंकहरूले पनि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको जानकारी गराए। त्यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको ऋणपत्र बजार बिकासको लागि अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकसँग सहायता लिएर काम गरिरहेको जानकारी दिए। धितोपत्र बोर्डले हालै प्राइभेट इक्विटि र भेञ्चर क्यापिटल जस्ता वित्तीय उपकरण बजार उपलब्ध हुने गरेर काम गरेको समेत बताए। परम्परागत बैंकिङ उपकरणहरूले यस्ता उपकरणहरूले जस्तो पुुँजी संकलनको लागि अवसर नदिने समेत उनले दाबी गरे।