२०८१ बैशाख १४ , शुक्रवार

मौद्रिक नीतिको समिक्षा सरकारले चाहेको जस्तो छैन : अर्थमन्त्री महत

सुनाखरी न्युज/ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सरकारले चाहेको जस्तो नभएको बताउनुभएको छ ।

 

शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरेता पनि सरकारले चाहेको जस्तो नभएको बताउनुभयो । उहाँले वर्तमान अर्थतन्त्रमा देखिएका अर्थतन्त्रका समस्या समाधानको लागि सकारात्मक सन्देश दिने बताउनुभयो ।

 

अर्थमन्त्री डा. महतले बजारमा पछिल्लो समय भएको तरलता सहजता बनाई कर्जा प्रवाहको लागि सहज बनाउने बताउनु भयो। उहाँले सरकारले आगामी बजेटमा निजी क्षेत्रले दिएका सल्लाह सुझावलाई औचित्य र आवश्यकताको आधारमा कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले सरकारको मुख्य लक्ष्य भनेकै वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउनु भएको उल्लेख गर्नुभयो। उहाँले अनावश्यक कानून, नियमावलीमा वा निर्देशनमा रहेका नीतिगत समस्या र अफ्ठ्याराहरुलाई हटाउन कोशिस बजेटमार्फत गर्ने बताउनुभयो ।

 

उहाँले निजी क्षेत्र व्यापारको क्रियाशिलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना नहुने भन्दै उद्योग व्यवसाय नफस्टाई राजश्व बढ्न नसक्ने बताउनुभयो । उहाँले राजश्व बढेमात्रै बजेटको आकार बढ्ने र बजेटको आधारमा वृद्धिमात्रै राज्यको लगानी गर्ने क्षमता बढ्ने दाबी गर्नुभयो ।