२०८१ बैशाख ११ , मंगलबार

‘तारक मेहताका उल्टा चस्मा’ की अभिनेत्रीले निर्मातामाथि लगाइन् यौन उत्पीडनको आरोप

सुनाखरी न्युज/ काठमाडौं । भारतीय टिभी सिरियल ‘तारक मेहताका उल्टा चस्मा’ की अभिनेत्रीले निर्मातामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । अभिनेत्री जेनिफर मिस्त्री बंसीवालले टिभी सिरियलका निर्माता आसित कुमार मोदी र अन्य दुई जनामाथि यौन उत्पीडनको आरोप लगाएकी हुन् । यद्यपि, दुवैले यो आरोप अस्वीकार गरेका छन् । उनका अनुसार जेनिफरलाई उनको खराब व्यवहारका कारण शोबाट जान भनिएको थियो ।

 

आसित मोदीले आफू र शोको बदनाम गरेको आरोपमा जेनिफरविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् । जेनिफरले सब टिभीमा चल्ने यो सबैभन्दा लामो शोमा रोशन सोढीको भूमिका निभाउँदै आएकी छिन् । जेनिफरले ८ अप्रिलमा आफ्नो उजुरी राष्ट्रिय महिला आयोग र मुम्बई पुलिसलाई पठाएको पनि जानकारी दिइन् । उक्त उजुरीमा प्रोजेक्ट हेड सोहेल रमानी र निर्माता जतिन बजाजले पनि आफूलाई यौन दुर्व्यवहारको प्रयास गरेको उल्लेख छ ।पवई पुलिस स्टेसनका एक वरिष्ठ पुलिस अधिकारीले जेनिफरको उजुरी पाएको बताएका छन् । जेनिफरले केही वर्षयता असित मोदीले आफूमाथि पटक पटक यौन दुर्व्यवहार गरेको दाबी गरेकी छन् ।

 

उनले धेरै पटक असभ्य कुरा गर्ने गरेको तर आफूले सधैँ बेवास्ता गरेको उनले बताइन् । जेनिफरका अनुसार सन् २०१९ को मार्चमा सिंगापुरमा आसित मोदीले उनलाई आफ्नो कोठामा बोलाएर ह्विस्की पिउन प्रस्ताव राखेको बताइन् । जेनिफरले समाचार एजेन्सी पिटिआईसँग भनिन्, ‘म चुप बसेँ । तर यो कुरा आफूसँग काम गर्नेहरूलाई भन्थेँ । यस्तो स्थितिमा उनीहरुले मलाई जोगाउने गर्दथे ।’

 

जेनिफरले भनिन्, ‘मेरा साथीहरू अहिले पनि काम गरिरहेका छन् त्यसैले उनीहरुले खासै केही गर्न सक्दैनन् । मैले यसबारे रमानीसँग कुराकानी गरेँ । मैले यो शोमा काम गर्न नसक्ने कुरा उनलाई बताएको थिएँ । मैले यस्तो गरेँ भने उनीहरुले मेरो तलब चार महिनाका लागि रोकिदिने चेतावनी दिए ।’ कार्यक्रमका निर्देशकले भने, ‘जेनिफरको कनट्र्याक्ट हामीले नबढाएका कारण उनले हामीमाथि यस्ता खालका आरोप लगाइरहेकी छिन् ।’एजेन्सी