२०८१ बैशाख १४ , शुक्रवार

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रकाे सहकार्य आवश्यक: प्रधानमन्त्री दाहाल

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

 

शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उहाँले उल्लेख गर्नुभयो । सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको उहाँले बताउनुभयो ।

 

दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको उहाँले बताउनुभयो। उहाँले नेपालले दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको बताउनुभयो । सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो।

 

प्रधानमन्त्री दाहालले नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताउनुभयो । विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको उहाँले बताउनुभयो ।