२०८१ बैशाख ७ , शुक्रवार

रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न, प्रदेशको डिजिटल अवस्था बारे छलफल

सुनाखरी न्युज/ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल संवाद ४.० आयोजना भएको छ ।

आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बुधबार सुर्खेतमा रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो । बुधबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जीसीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिको रूपमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहको उपस्थिति थियो । यस्तै कार्यक्रममा विरेन्द्रनगर नगरपालिकाका उप-मेयर निलकण्ठ खनाल, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव सन्त बहादुर सुनार, सुर्खेत चेम्बर अफ कमर्सका एन्ड इन्डष्ट्रीका अध्यक्ष लक्ष्मण कँडेल, क्यान महासंघका केन्द्रिय सदस्य राम रावल, क्यान महासंघका अघ्यक्ष प्रेम प्रकाश चन्द, एशिया फान्डेसनका अनुप नेपाली लगायतको उपस्थिति रहेको थियो ।

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा ४ वटा कार्यपत्र प्रस्तुत भएका थिए । आइसिटी फाउन्डेसन नेपालका हरिराम रिमालले कर्णाली प्रदेशको डिजिटल क्यापाबिलिटीज बारे आफ्नो प्रस्तुती दिएका थिए । यस्तै प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रम बागमती प्रदेशका आईटी तथा ई-गभर्नेन्स विज्ञ दिपेन्द्र पौडेलले बागमती प्रदेशको डिजिटल गभर्नेन्स, फोनपेका भरत पौडेलले डिजिटल अर्थतन्त्र र रारा ल्याब्सका प्रदिप ढकालले कर्णाली प्रदेशको डिजिटल क्यापाबिलिटज ल्यान्डस्केप बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

संवादमा कर्णाली प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा विरेन्द्रनगर नगरपालिकाका उप मेयर निलकण्ठ खनाल, सुर्खेत बहुमुखी कलेजका प्रमुख माधव खनाल, क्यान महासंघका कर्णाली प्रेश अध्यक्ष प्रेम प्रकाश चन्द र दि एशिया फाउन्डेसन नेपालका अनुप नेपाली रहेका थिए । प्यानलको सहजीकरण आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले गरेका थिए । यसअघि कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ । कर्णाली प्रदेशपछि लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ । त्यसपछि ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो । डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिन्छ । त्यसका लागि www.digitalsamvad.org मा गएर रजिष्टर गर्न सकिने छ ।