२०८१ बैशाख १४ , शुक्रवार

दलहरुलाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ ।

 

कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ दललाई एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो । आयोगले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्ने दललाई पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चारमाध्यम र सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्न र सोको जानकारी आयोगमा गराउन भनेको छ ।

 

राजनीतिक दलसम्बन्धी ऐन,२०७३ बमोजिम आयोगमा दर्ता कायम रहेका दलहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन समयमा पेस नगर्ने दलहरूलाई ढिला हुनुको कारणबारे पत्राचार गरेको छ ।