२०८१ बैशाख १३ , बिहिवार

अन्नपूर्णको खोँचमा खसेर बाँचेका भारतीय पर्वतारोही स्वदेश फर्किए

सुनाखरी न्युज/ काठमाडौं । अन्नपूर्ण हिमालको खोँच खसेको तीन दिन पछि उद्धार गरेर अस्पताल पुर्‍याइएपछि चिकित्सकहरूले करिब ४ घण्टा कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर- बन्द भएको मुटुलाई चलाउने विधी) गरेर बचाएका भारतीय पर्वतारोही अनुराग मालु करिब-करिब ठिक भएसँगै बाँकी उपचारका लागि भारत लगिएको छ ।

 

उनलाई बिहीबार बिहान ११:३० बजे भारतबाटै आएको एयर एम्बुलेन्सबाट नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको हो । चुचुरोमा पुग्न स्वास्थ्यले साथ नदिएपछि अन्नपूर्ण प्रथमको ‘क्याम्प फोर’बाट आधार शिविर फर्कंदै गर्दा ३४ वर्षीय मालु क्याम्प थ्रीबाट तल बाटोमा रहेको हिमदरार पार गर्ने क्रममा त्यसैभित्र खसेका थिए ।

 

तीन सय मिटर गहिरो दरारबाट उनलाई करिब आधा दर्जन उद्धारकर्ताहरूको साहयतामा ७२ घण्टापछि बाहिर निकालिएको थियो । सोमबार खोँचमा खसेका उनको बिहीबार बिहान मात्रै उद्धार सम्भव भएको थियो । उद्धार गरेर पोखरास्थित मणिपाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याउँदा उनको मुटु र श्वास चलेको थिएन ।