२०८१ बैशाख १४ , शुक्रवार

निगममा आफूखुशी राजनीतिक नियुक्ती बढ्न थालेपछि योग्यता तोक्दै प्राधिकरण

सुनाखरी न्युज/ काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको न्यूनतम योग्यता तोक्ने भएको छ । निगममा राजनीतिक शक्तिको आडमा योग्यता नै नपुगेका मान्छेलाई कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नियुक्ती दिदा उनीहरुले उडड्यन नियम मिच्न थालेको भन्दै प्राधिकरणले त्यसलाई नियन्त्रण गर्न नयाँ कार्यविधि ल्याउन लागेको हो ।

 

उक्त कार्यविधि एक साताभित्रै सार्वजनिक गर्ने तयारीमा प्राधिकरण रहेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले वायुसेवा कम्पनीमा ‘एकाउन्टेबल म्यानेजर’ (सीईओ) बन्न न्यूनतम योग्यता र अनुभव निर्धारण गर्न लागिएको बताए ।तोकिएको छैन्, योग्यता नतोक्ता सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम र हेलिकप्टर कम्पनीमा अराजक गतिविधिहरु बढ्न थाल्यो, वायुसेवा कम्पनीको अनुगमन तथा निरीक्षण गर्न थप सहज गर्न कार्यविधि लागू गर्न लागिएको हो’, उनले भने ।

 

‘हामीले प्रमुख कार्यकारी अधिकृतको योग्यता, काम, कर्तव्य र अधिकार सम्बन्धि मापदण्ड छिट्टै सार्वजनिक गरेपछि होटल, रेष्टुरेन्ट चलाएकोे व्यक्तिले एयरलाइन्स कम्पनी खोल्ने परिवेशको अन्त्य हुन्छ’, उनले भने । अहिले पनि निजी एयरलाइन्सका एकाउन्टेबल म्यानेजर बन्न प्राधिकरणको सेफ्टी विभागबाट अनुमति भने लिनुपर्छ । तर, कार्यविधि नै बनाएर न्यूनतम योग्यता भने तोकिएको छैन । योग्यता नतोक्दा सरकारी स्वामित्वमै सञ्चालित वायुसेवा निगमको बहालवाला कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक हटाएर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटनमन्त्रीले आफू खुशी नियुक्त गर्ने परिपाटी रहेको छ ।

 

आर्थिक अवस्था खस्किएर कर्मचारीलाई नियमित रुपमा तलब समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई उक्त कार्यविधि लागू भएसँगै ठूलो राहत मिल्ने जानकारहरु बताउँछन् । निगमका पूर्व महानिर्देशक डिमप्रकाश पौडेल नयाँ कार्यविधि लागू भएका निगमको व्यवसायिक छवि पनि उच्च र निगमभित्र सुधार पनि हुने बताए । निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको व्यक्तिले योजना अनुसार ४ वर्षसम्म ढुक्क भएर काम गर्ने वातावरण बन्ने हो भने निगममा धेरै सुधार हुने उनको विश्वास छ ।

 

‘जति राम्रो काम गरे पनि सरकार परिवर्तन वा पर्यटनमन्त्री हुँदा निगमका अध्यक्ष वा कार्यकारी प्रमुख तारोको रुपमा रहन्छन्, कार्यविधि लागू भएपछि विभिन्न आरोप प्रत्यारोप लगाएर निलम्बन गर्ने परिपार्टीको अन्त्य हुनेछ’, उनले भने । लगानीकर्ताको लगानी सुनिश्चित गर्नकै लागि भए पनि जवाफदेही व्यवस्थापक नियुक्तीका लागि मापदण्ड तोक्न लागिएको प्राधिकरणले जनाएको छ । यसअघि जवाफदेही व्यवस्थापकका रुपमा गर्नुपर्ने कार्य नगरेको भन्दै प्राधिकरणले तीन पटकसम्म निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टिकरण सोधेको थियो ।