२०८१ बैशाख १२ , बुधवार

धारिलो हतियार प्रहारबाट गल्छीमा एक युवकको मृत्यु, स्थानीयबासिन्दाको प्रदर्शन

सुनाखरी न्युज/ काठमाडौं । धारिलो हतियार प्रहारबाट धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको ज्यान गएको छ । होटलमा सामान्य विवादका कारण चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले जानकारी दिए ।

 

‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबी सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गयो’, मिश्रले भने । उनका अनुसार प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ ।

 

यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी मिश्रले बताए । थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका छन् । उनीहरुले होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।