२०८१ बैशाख १२ , बुधवार

बालेनसँगै बदलिँदै काठमाडौं

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको स्वरुपमा निकै परिवर्तन भइरहेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएर आएपछि काठमाडौं भित्रका धेरै विषयहरुमा सकारात्मक परिवर्तनको शुरुवात हुँदै गरेको देख्न सकिन्छ । प्राविधिक रुपमा इञ्जिनियर र र्याप गायन क्षमता बोकेका बालेन महानगरको मेयरको उम्मेदवार भएदेखि अहिलेसम्म निरन्तर चर्चाको शिखर छन् । मिडियालाई आफूसम्म प्रत्यक्ष पहुँच दिन नचाहने मेयर बालेन विभिन्न कामहरुको पहलकै कारण मिडियामा छाएका छन् ।

 

७ सय ५३ वटा स्थानीय तह मध्ये विवादित तथा सकारात्मक काम दुबै हिसाबले देशमै बालेन अगाडि छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्नै लाग्दा उनले अगाडि सारेका कामले विस्तारै आकार लिन लागेको र काठमाडौं बद्लिँदैछ भन्ने आभास दिलाउन थालेको महसुस गर्न सकिन्छ । काठमाडौं भित्र दृश्य होस् या पूर्वाधार विकासको क्षेत्र हरेक हिसाबले काठमाडौं परिवर्तन हुँदै गरेको महसुस गर्न सकिन्छ । सरसफाइ, खुला फुटपाथ, पार्किङ व्यवस्थापन, होर्डिङ बोर्ड व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, हाइड्रेन्ट विस्तार लगायत धेरै क्षेत्रमा विगतको भन्दा अहिलेको काठमाडौंमा नयाँपन पाउन सकिन्छ । मेयर बालेन चुनाव अगाडि गरेका प्रतिबद्धता कम चर्चाको बीचबाट पूरा गर्ने कसरतमा जुटेका छन् । महानगरपालिकाको सेवा प्रवाह, विद्यालय शिक्षामा रुपान्तरण लगायतका क्षेत्रमा पनि मेयर बालेनले धेरै नै नयाँपनको शुरुवात गरिसकेका छन् ।

 

काठमाडौंको फोहोर व्यवस्थापन सबै भन्दा ठूलो चुनौतीको विषय हो । बालेनले मेयरमा उम्मेदवारी दिँदा नै काठमाडौंको फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए । उनको एजेण्डामा फोहोरको सास्ती भोगेका काठमाडौंवासीले सुन्दर काठमाडौंको कल्पना गरेर साथ दिएका थिए । काठमाडौंको फोहोरको निरन्तर व्यवस्थापन गर्ने विषय अझैपनि चुनौतिपूर्ण नै छ । तर, महानगरसँग भएको जनशक्तिको उच्चतम प्रयोग गरेर बालेनले फोहोरलाई घर र सहरबाट समयमा नै उठाउने विषयलाई कार्यान्वयन गरेका छन् । जसले गर्दा हामीले काठमाडौंका सडकमा विगतमा जस्तै फोहोरको डंगुर देख्नुपर्ने अवस्था छैन ।

 

सहरी योजना विना निर्माण भएको काठमाडौंमा सहज फुटपाथ कायम गर्ने कुरा आँफैमा चुनौतिपूर्ण विषय हो । हजारौं व्यवसायीहरु जीवन जोडिएको अव्यवस्थित फुटपाथ व्यवस्थापनमा मेयर बालेन निर्मम भएर प्रस्तुत भए । फुटपाथमा अव्यवस्थित ढंगले व्यापार गर्ने र पेशेवर माग्नेहरुलाई महानगरले बल प्रयोग गरेर हटाउने कामको शुरुवात गर्यो । बल प्रयोगको विषयलाई लिएर बालेनले निकै आलोचना समेत खेप्नुपर्यो । जसकारणले सर्वसाधारण मानिसहरु आवतजावत गर्न नै नमिल्ने फुटपाथहरु अहिले खुला भएका छन् । यद्यपी काठमाडौंमा भविष्य खोजेर दुरदराजबाट आएकाहरुको दुःखसँग काठमाडौं नभएको प्रश्न भने कायम नै छ ।