२०८१ बैशाख ८ , शनिवार

बुद्ध एयरका सञ्चालक बस्नेतलाई आफ्नै भाइले लगाए आर्थिक घोटालाको आरोप

सुनाखरी न्युज /  काठमाडौं – बुध्द एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत र अमेरिका बस्ने भाइ शिवेन्द्रबीचको सम्पत्ति विवाद भएको छ ।बुबा सुरेन्द्रबहादुर बस्नेतको निधनपछि छोराहरुबीच सेयरको लफडा देखिएको छ ।भाइ शिवेन्द्रले दाइले सबै सम्पत्ति एक्लौटी पारेको भन्दै हिजो बबरमहलमा पत्रकार सम्मेलन गरेपछि नेपाली हवाई उडान क्षेत्रको सम्राट मानिएको बस्नेत परिवारभित्रको कलह बाहिर आएको हो । शिवेन्द्रले कम्पनीका वास्तविक अवस्थाबारे बुझ्न कानुनी रुपमा लिखित सम्बन्धित कागजात माग्दा दाजु विरेन्द्रले हिसाबकिताब नदेखाएको र कार्यालयमा समेत प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।

 

पिता सुरेन्द्रले बुध्द एअरको सेयर स्वामित्व भाग लगाउने क्रममा दाइको नाममा २० र आफ्नो नाममा ८० प्रतिशत राखेका थिए । उनको निधनपछि दाइले बाबुको नामको ८० प्रतिशत आधा भाग लगाउनुपर्नेमा सबै कब्जा गरेको उनको आरोप छ ।भाइले आफ्नो कानुनी आधारको माग गर्दा दाजुले घर र कार्यालयमा पस्न प्रतिबन्ध लगाएको शिवेन्द्रको आरोप छ । यस्तै, आरजु राइस मीलमा बुद्ध एअरको इन्जिनियरलाई फुललाइम स्टाफको रुपमा काम गर्ने जिम्मेवारी दिएको र एअरलाइन्सको इन्जिनियरलाई चामल मिलको जिम्मेवारी दिनुले यसमा अर्को आशंका गर्न बाटो रहेको शिवेन्द्रले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

 

‘सबै आर्थिक स्थिती हेर्दा कम्पनीले दिएको नाफा, बोनस लगायतबाट हुने आम्दानीको स्रोतसंग सम्पत्ती नमिलेको देखिन्छ, यसबाट पनि आर्थिक रुपमा तलमाथी भएको आशंका हामीलाई लागेको छ, यसरी आर्थिक हिसाव किताबमा तलमाथी पर्न गएको हुन सक्ने र यो कामको लागि कम्पनीको फाइनान्स कन्टोलरको पनि सहयोग वा संलग्नता रहेको हुन सक्ने हाम्रो आशंका छ,’ विज्ञप्तीमा भनिएको छ ।

 

उनले भने,‘राजधानीमा आधा दर्जन घर,विभिन्न स्थानमा दशौं बिघा र दशौं रोपनी जग्गा भएका वीरेन्द्रको सम्पत्ति छानबिन गर्नुपर्दैन ? उनको आम्दानीको स्रोत खोज्नु पर्दैन ?’तर,बुध्द एअरको म्यानेजेरियल टीमका एक सदस्य भन्छन्  शिवेन्द्रमाथि विभिन्न बैंकबाट लिएको १५ करोड ऋण नतिरेवापत कालोसूचिको किस्सा छुट्टै छ । ‘बुबाले भाग लगाइदिएको सेयर पनि दाइले खाइदिए,’पत्रकार सम्मेलनमा शिवेन्द्रले भनेका थिए, ‘पिताले दिएको ४० प्रतिशत सेयरको कुनै हिसाब छैन । म अमेरिका बसेको मौकामा सबै काम सिध्याइएछ ।’