२०८१ बैशाख ६ , बिहिवार

सिटी होटलको आईपीओ भर्ने आज अन्तिम दिन

IPO

सुनाखरी न्युज/ काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। सर्वसाधारणका लागि कम्पनीले गत वैशाख २५ गतेबाट आवेदन खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको छ।

 

अब ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हिजो बुधबार साँझ साढे ५ बजेसम्म यो आईपीओमा ७ लाख २४ हजार ६३९ आवेदकबाट कुल ८० लाख ७६ हजार ४०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५.९५ गुणा बढी हो।

 

सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।