२०८१ बैशाख १२ , बुधवार

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जाबलाखेल तानिने

सुनाखरी न्युज/ काठमाडौं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जाबलाखेल तानिने भएको छ । आज ज्योतिषीहरूले हेरेको शुभ साइतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जाबलाखेल रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीहरूले बताएका छन् ।

 

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन् । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो ।

 

मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुलचोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जाबलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।

 

यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।