२०८० चैत्र १६ , शुक्रवार

चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा, शोधनान्तर बचत १ खर्ब ८० अर्ब बढी

सुनाखरी न्युज/ काठमाडौं । नेपालको चालु चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ९ महिनाको तथ्यांक सार्वजनिक गर्दै चालु खाता घाटाका रहेको जानकारी दिएको हो ।

तथ्यांक अनुसार गत आर्थिक बर्षको सोही अवधिमा नेपालको चालु खाता ५ खर्ब १० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता चालु आवमा ४० करोड २८ लाखले घाटामा रहेको छ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ । यस्तै चालु आवको यस अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार हाल पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ ।

यस्तै यस अवधिसम्म नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको थियो । यस्तै चालु आवको चैतसम्म नेपालको शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ ।