२०८१ बैशाख १४ , शुक्रवार

समयभन्दा छिटो हुने जन्म विश्वभर बालबालिका मृत्युको प्रमुख कारण

सुनाखरी न्युज/ काठमाडौं । विश्वमा प्रत्येक दुई सेकेन्डमा एउटा शिशुको समयभन्दा पहिले नै जन्म हुन्छ । यसरी समयभन्दा पहिले जन्मिएका शिशुमध्ये प्रत्येक ४० सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको छ । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले यही भन्छ ।

 

राष्ट्र संघको यो तथ्याङ्कलाई हेर्दा विश्वभर प्रत्येक वर्ष समयभन्दा अगावै जन्मिएका १० लाख शिशुको मृत्यु हुने गरेको छ । राष्ट्र संघका अनुसार, पछिल्लो एक दशकयता समयभन्दा अगावै जन्मिने शिशुको मृत्यु दर घटाउने विषयमा कुनै ठोस प्रगति हुन सकेको छैन ।समयअगावै हुने जन्म र त्यसबाट हुने शिशुको मृत्यु यतिबेला विश्वकै लागि सबैभन्दा ठुलो चुनौती बनेको राष्ट्र संघको ठम्याई छ ।

बुधवार प्रकाशित ‘बर्न टु सुन’ प्रतिवेदनले यसलाई भयावह अवस्थाको रूपमा चित्रण गर्दै ‘सुषुप्त आपत्काल’ को संज्ञा पनि दिएको छ ।‘विश्वले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै ठुलो फड्को मारिसकेको छ । तर, विभिन्न समस्याका कारण समयभन्दा अगावै शिशु जन्मिने र त्यसबाट ठुलो सङ्ख्यामा शिशुको मृत्यु हुने भयावह अवस्थामा भने सुधार ल्याउन सकिएको छैन,’ युनिसेफका स्वास्थ्य निर्देशक स्टिभन लाउवेरियर भन्छन्, ‘वास्तवमा यो निकै दुर्भाग्यपूर्ण अवस्था हो ।’

 

राष्ट्र संघका अनुसार, समयभन्दा अगावै हुने जन्म नै यतिबेला विश्वभर शिशु मृत्युको सबैभन्दा प्रमुख कारण बनेको छ । विश्वभर ५ वर्षभन्दा कम उमेरका पाँच जना शिशुको मृत्यु हुँदा त्यसमध्ये १ जना समयअगावै जन्मिएका शिशु हुन्छन् । बेलायतमा पनि यो गम्भीर समस्याका रूपमा देखिएको छ । बेलायतमा १० वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको प्रमुख कारण पनि समयअगावै हुने जन्म र त्यसबाट सृजित समस्यालाई नै मानिएको छ ।

राष्ट्र संघको तथ्याङ्क अनुसार, सन् २०२० मा समयअगावै हुने शिशुको जन्म दर ९.९ प्रतिशत थियो । अर्थात, उक्त अवधिमा विश्वभर जन्मिएका शिशुमध्ये ९.९ प्रतिशत शिशु समयअगावै जन्मिएका थिए । सन् २०१० मा भने यो तथ्याङ्क ९.८ प्रतिशत थियो । माथिको तथ्याङ्कबाट पनि प्रमाणित हुन्छ, पछिल्लो एक दशकको अवधिमा विश्वभर समयअगावै हुने जन्म र त्यसबाट सृजित समस्याका कारण हुने बालबालिकाको मृत्युलाई कम गर्न खासै गतिलो काम गर्न सकिएको छैन ।

 

सन् २०२० मा मात्र विश्वभर १ करोड ३४ लाख शिशु समयअगावै जन्मिएका थिए । राष्ट्र संघको तथ्याङ्क अनुसार, समयअगावै जन्मिएका शिशुहरूमा निकै पछिसम्म पनि विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । उनीहरूमध्ये धेरैको शारीरिक र मानसिक विकास सुस्त गतिमा हुन्छ भने अपाङ्गताको जोखिम पनि निकै बढी हुन्छ ।

राष्ट्र संघको तथ्याङ्कले भन्छ, कलिलो उमेरमा आमा बन्नु पनि यसको प्रमुख कारण हो । यसका अतिरिक्त उपचार सम्भव रहेका कतिपय सङ्क्रमित रोगहरू पनि यसका कारण हुन्छन् । समयअगावै हुने जन्म दर र त्यसबाट सृजित समस्याका कारण हुने बालबालिकाको मृत्यु घटाउन पारिवारिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ ।एजेन्सी