२०८१ बैशाख २२ , शनिवार

विदेशी मुद्राको सञ्चिति सवा १४ खर्ब नाघ्यो, बैंकिङ निक्षेप सात प्रतिशतले बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । विदेशी मुद्राको सञ्चिति सबा चौध खर्ब नाघेको छ । चालु आर्थिक वर्षको नौ महिनामा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नौ महिनाको राज्यको वित्तीय स्थिति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले सो कुरा उल्लेख गरेको हो ।

 

२०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४३३ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । २०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

 

राष्ट्र बैंकले पछिल्लो नौ महिनामा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.६ प्रतिशत रहेको जनाएको छ । २०७९ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, पछिल्लो नौ महिनामा आयात १८.१ र निर्यात २६.३ प्रतिशतले घटेको र व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु निर्यात २६.३ प्रतिशतले कमी आई ११८ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६९.४ प्रतिशतले वृद्धि भएको थियो ।

 

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई रु.१२०१ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ । सोधानान्तर स्थिति एक खर्ब ८० अर्ब १७ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१० अर्ब ५८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।

 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई रु.९०३ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । संघीय सरकारको खर्च चालु आर्थिक वर्षको नौ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड भएको जसमा राजस्व परिचालन ६ खर्ब ८३ अर्ब ८१ करोड मात्रै भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकहरुमा निक्षेप सात प्रतिशतले बढेको र कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको वित्तीय सूचकांकमा उल्लेख गरिएको छ ।