२०८१ बैशाख ६ , बिहिवार

झाडापखालाबाट १४ वर्षीया बालिकाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । डडेल्धुरामा झाडापाखालाबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको परशुरामनगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगीता धामीको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

केही दिनअघि बिरामी परेकी उनलाई मंगलबार नै जोगबुढा अस्पताल पुगाइएको थियो । धामीको झाडापखालाबाट मृत्यु भएको जोगबुडा अस्पतालका डा. जितेन्द्र चौधरीले पुष्टि गरे । संगीताको शरीरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको हो ।

 

यस्तै, सोही गाउँका अन्य तीनजना विरामीसमेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन् । गुप्तेगडामा झाडापखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले जानकारी दिए ।