२०८१ बैशाख ११ , मंगलबार

टोपबहादुरको निवासमा प्रहरीको खानतलासी

सुनाखरी न्युज/ काठमाडौं । प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो ।

 

प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रममा रायमाझीको निवासमा खानतलासी गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझीको निवासमा खानतलासी लिइएको बताए । निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला परेनन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन बनेका थिए ।

 

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट दुबैजनाविरद्ध पक्राउ पुर्जी लिएको थियो । वारेन्ट जारी भएपछि उनका छोरा पक्राउ परेपनि रायमाझी ‘फरार’ रहँदै आएका छन् । दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप छ । यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए ।