२०८० चैत्र १५ , बिहिवार

लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्ने कर्मचारीमाथि कारबाही गर्नुपर्छः सांसद डाँगी

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ निशा डाँगीले लोक सेवा आयोगको डेटा रिकभर गर्न नसक्ने कर्मचारीमाथि कारबाही गर्न माग राखेकी छिन् ।

 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डाँगीले जिम्मेवार निकायमा बसेर संवेदनशील डेटा सुरक्षित गर्न नसकेकाे भन्दै त्यस्ता कर्मचारीमाथि कारबाही हुनुपर्ने बताएकी हुन् । “२०७९ साल मंसिर, पुस र माघ महिनामा लोक सेवा आयोगमा दरखास्त दिएका झण्डै चार लाख आवेदकको डेटा हराएको छ,” उनले भनिन्, “डेटा पुनः प्राप्तिका लागि प्रयास गरेको दुई महिनाभन्दा पनि बढी भइसक्दा डेटा रिकभर नभइसकेपछि लाजमर्दो तरिकाले आयोगले फेरि दरखास्त आह्वान गरेको छ ।”उनले अगाडि भनिन्, “विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटासमेत सुरक्षित राख्न सकिरहेको छैन ।

 

लोकसेवा आयोगजस्तो जिम्मेवार निकायले डेटा सुरक्षित राख्न नसक्नु, आयोगले डेटा रिकभर गर्न नसक्नु र अन्तिममा आएर पुनः फारम भर्न लगाउनु यो कति हदसम्मको लापरवाही हो ?”यस्ता लापरवाहीले गर्दा स्वदेशमै भविष्य खोजिरहेका युवालाई निरुत्साहन गरेको उनको तर्क थियाे ।”यसरी युवाको भविष्यमाथि खेलवाड नगरियोस् । र, डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकाहरूलाई कारवाही गरियोस् । र, पटक-पटक लोक सेवा आयोग परीक्षा लिने गरेको मिति सरिरहेको समस्याको पनि समाधान गरियोस्,” उनले भनिन् ।