२०८० चैत्र १६ , शुक्रवार

अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ : महामन्त्री शर्मा

सुनाखरी न्युज/ काठमाडौं । सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने उहाँको भनाइ थियो । “सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ ।”सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरुको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिनुभयो ।

पुल बनाउने र सडक बनाउने विषयमा कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उहाँले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै उहाँले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद शर्माले सत्ता पक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई समृद्ध बनाएर एकताका साथ अघि बढनुपर्ने सुझाव दिनुभयो ।

सांसद राजेन्द्र बजगार्इंले मुलुकमा आर्थिक विकास गर्न सकिने क्षेत्रहरु अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेमबहादुर महर्जनले कृषि उत्पादनमा बढी जोड दिनुपर्ने र रैथाने बालीलाई पनि प्राथमिकता दिएर बजारीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले कुन ठाउँमा के उत्पादन गर्न सकिन्छ त्यो बारेमा अध्ययन गनुपर्ने भनाइ छ । सांसद वासुदेव घिमिरेले उत्पादन वृद्धि गर्ने र ऋण कम गर्ने खालका कामहरु गर्नुपर्ने र समग्रमा मुलुकको आर्थिक उत्पादन वृद्धि गर्ने खालका काम गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद प्रभु साहले पढेलेखेका, युवा सबै विदेश जान चाहिरहेका हुँदा मुट्ठीभरका मानिस खुसी र धेरै नेपालीहरु दुःखी भएको अवस्था सुनाउनुभयो । सांसद सूर्यप्रसाद ढकालले राष्ट्रिय गौरव र अन्य योजनामा हुने भ्रष्टाचार रोकिनुपर्ने र कलकारखानाहरुको विकास र विस्तार गर्न बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । सांसद सम्झना थपलियाले सरकारले दिएको सहुलियत किसानको ऋणमा गैरकिसानले लिएर चलाउने गरेको र वास्तविक किसान मिटरब्याजीको फन्दामा पर्ने गरेको सुनाउनुभयो । सांसद हर्कमाया विश्वकर्माले राज्यले मुलुकको आर्थिक वृद्धि, सुशासन र समृद्धि गर्ने खालको बजेट बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गर्नुभएको कर प्रस्तावबाहेक बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी छ । राष्ट्रिसभामा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भएकाले आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।