२०८१ बैशाख ७ , शुक्रवार

प्रचण्ड, ओली र देउवाबीच विचाराधीन विधेयकबारे छलफल

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख दलका तीन शीर्ष नेताबीच संसद्मा विचाराधीन विधेयकका बारेमा छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबारे तीन नेताले कुनै प्रतिक्रिया नदिए पनि संसद्मा विचाराधीन विधेयक, प्रधानन्यायाधीश नियुक्तिमा अपनाइने विधि लगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू नै जोडिएका सामाचारहरु सार्वजनिक भइरहेका बेला तीन नेताबीच भएको भेटमा त्यसबारे कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।‘भुटानी शरणार्थी प्रकरणबारे कुनै छलफल भएन’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीसँग भने,‘हिजो संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेको छ ।

 

यस अवस्थामा कतिपय संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा विचाराधीन छ, टीआरसी विधेयक पनि विचाराधीन छ त्यसबारेमा छलफल भएको हो ।’आचार्यले तीन नेताबीच त्यसबाहेक सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी भएको जानकारी दिए । उनले भुटानी शरणार्थीबारे कानुन अनुसार सरकार अघि बढ्ने भन्दै कसैले हस्तक्षेप गर्ने विषय नभएको बताए ।